कन्या क्याम्पस पोखरामा उद्यमशिलता सहयोग कार्यक्रम तालिम सम्पन्न नयाँ उद्यमको योजना प्रस्तुति तथा छनौट कार्य सम्पन्न भएको छ ।
कन्या क्याम्पस पोखरामा उद्यमशिलता सहयोग कार्यक्रम अन्तर्गत छात्रा सहभागीहरुले तालिम सम्पन्न भए पश्चात तयार गरेका नयाँ उद्यमको योजना प्रस्तुति तथा छनौट कार्य सम्पन्न भएको छ । विभिन्न ८ सहभागीहरुले तयार गरेका योजनाहरुलाई निर्णायक मण्डलले नवप्रवर्तन योजना, व्यवसायको सम्भाव्यता, स्थानिय श्रोत तथा साधनको परिचालन, प्रस्तुतिकरण कला, समयसीमा जस्ता बिबिध पक्षहरुको आधारमा उत्कृष्ट ५ योजनाहरु छनौट गरेका हुन । नयाँ उद्यम गर्न तथा योजना विस्तार गर्न चाहेका सहभागीहरु एलिना मल्ल ठकुरी, कृतिका पराजुली, काजल कुमारी महरा, ऐश्वर्या श्रेष्ठ र प्रगति बिजुक्छेकाे याेजना छनाैट भएकाे हाे । योजना छनौट समितिमा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, गुरुङ व्युटी एकेडेमीका सञ्चालक उद्यमी चिनु गुरुङ, युवा उद्यमी तथा गतबर्ष विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहयोग कार्यक्रमका बिजेता सचिन घिमिरे र क्याम्पस प्रमुख सुरेस कुमार मानन्धर रहेका थिए । कार्यक्रमका संयोजक इन्द्रकमल मानन्धरले उक्त योजनाहरु विश्वविद्यालय अनुदान आयोगमा पेश गर्ने तयारीमा रहेको जानकारी गराए ।